*नमस्ते र ताशिदेले,*
पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा एकता, सहकार्य, र सांस्कृतिक संरक्षणका मूल्यहरूमा आधारित छ। हाम्रो संगठनको नाम पिके डाँडाबाट राखिएको हो, जुन समुद्र सतहबाट ४०६५ मिटरको उचाइमा अवस्थित सुन्दर र शान्त स्थल हो। पिके डाँडा सोलुदुधकुण्ड नगर पालिका र पिके लिखु गाउँ पालिकाको प्राकृतिक सीमा हो र हालसालै यो ट्रेकिङ गन्तव्यको रूपमा लोकप्रिय हुँदै गएको छ। यसको चुचुरोबाट सगरमाथा, कञ्चनजंगा, लोत्से, मकालु, मनास्लु, अन्नपुर्ण लगायतका संसारका अग्ला हिमालहरूको शानदार दृश्य अवलोकन गर्न सकिन्छ।
हाम्रो संस्था पिके डाँडाको दक्षिणी भेगमा अवस्थित सोलुदुधकुण्ड नगर पालिका वडा नं. १०, टाप्टिङका नौ वटा सुन्दर गाउँहरूबाट आएर राजधानी शहर काठमाडौमा अस्थाई तथा स्थाई बसोबास गर्ने शेर्पा, तामाङ, मगर लगाएत समुदायहरूको साझा सस्थाको रुपमा स्थापित छ भने सस्थालाई आफ्नो मुल जन्म थालोसँग जोडी राख्न र आफ्नो सस्कार र सस्कृतिक पहिचान बनाई राख्न स्थापित भएको हो। यस संस्थाको मुख्य उद्देश्य मौलिक सस्कार, सस्कृतिक, परम्परा र धर्म बारे खोज तथा अनुसन्धान गरी प्रचार प्रसार गर्नु र त्यसको संवर्द्धन गर्नु, रितिरिवाजहरू, चाडपर्वहरू, गुम्बाहरू, छ्योर्तेनहरू, मन्दिरहरू, मानेहरु र जैविक विविधता संरक्षण गर्नु साथै पर्यटन प्रर्वद्धन सहायोग गर्नु र विशेष गरी टाप्टिङ क्षेत्र भित्रका विपन्न परिवारहरुलाई औसधी उपचार लगाएतमा अर्थिक तथा भौति सहयोग पुर्याउन, एकता र आपसी समर्थनलाई प्रवर्द्धन गर्न चाहन्छौं, जसले हाम्रो समुदायमा सुख-शान्ति र समृद्धि ल्याउन मद्दत पुग्न सकोस।
यस संस्थाको अध्यक्षको हैसियतले, म नेपाल र विदेशमा रहेका सबै सस्थाका सदस्यहरूले सस्थालाई गर्नु भएको योगदान र समर्पण प्रति गर्व गर्दछु। तपाईंहरूको योगदानले हाम्रो संस्थालाई अत्यधिक सबल बनाउनुको साथै हाम्रो गाउँ टाप्टिङको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ। म सबै सदस्यहरूलाई हाम्रो प्रयास र उद्देश्यलाई निरन्तर समर्थन गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईहरुले आर्थिक, भौतिक, वा बौद्धिक सहयोगले हाम्रो संस्था निरन्तर विकास र सफलताका साथ अघि बढिरहने छ । तपाईंहरूको योगदान र समर्थन अमूल्य छ, र यसको भविष्यमा सम्मान र कदर जरुर हुनेछ।
धन्यवाद
अघ्यक्ष
ङवाङ फुरी शेर्पा
पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal